Welcome to Edukum.com

प्रत्यागमन

मान्छेले परिस्थितिको सही विश्लेषण गर्न नसक्दा व्यवहारिक जीवनमा जटिलताहरु आउन सक्ने तर्फ सङ्केत गरिएको प्रस्तुत कथामा रामुको पुनरागमनलाई कथाको शीर्षक बनाइएको छ । आफूलाई जन्मदिने मातापतिाले निर्वाह गर्ने कर्तव्य भन्दा माथि रहेर आफैं प्रति समर्पित व्यक्तिहरुको समर्पनलाई कमजोरी ठान्ने स्वार्थीहरुको दुर्गती धेरै टाढा छैन भन्ने मूल आशय नै यस कथामा रहेको छ। यहाँ रामुको व्यवहार र उसको सत्यता ठम्याउन नसक्ने कमजोरीले सिङ्गो आदर्श परिवार भताभुङ्ग हुन पुगेको छ । अन्तत: सत्यको जीत हुन्छ भने जस्तै ढिलै भएपनि रामुले सम्पूर्ण यथार्थको बोध गर्दै आफ्नो कमजोरीप्रति आत्मग्लानी गरेर पुन: फर्किनु कथामा सुखद पक्ष देखिन्छ । हतारमा आफ्नो कर्तव्यबाट विमुख हुनु किमार्थ राम्रो हुँदैन । त्यसैले निम्त्याउने परिणाम जहिल्यै नकारात्मक हुने तर्फ पनि प्रत्यागमन कथा सचेत देखापर्छ ।

नेपाली कथा साहित्यको इतिहासमा नयाँ युगको सुत्रपात गर्न सफल कथाकार गुरुप्रसाद मैनालीद्वारा रचित प्रस्तुत प्रत्यागमन कथा नेपाली समाजको यथाथैमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । यस कथामा नेपाली समाजको वास्तविक चित्रलाई आदर्शको सजावट प्रदान गरिएको छ । सौतेनी व्यवहारको कटु यथार्थको प्रवेश नै नगरी आदर्श व्यवहारको उद्घाटन कथाको प्रमुख नारी पात्र शोभाको माध्यमबाट गरिएको छ । नेपाली समाजमा एउछी आदर्श नारीमा हुनुपर्ने सम्पूर्ण गुणहरु शोभाको चिरत्रमा देखिन्छ । सौतेनी भाउज्युमा देखिए पनि उनले नाबालक देवर रामुप्रति जुन व्यवहार देखाइन् त्यो सामान्य नारीको व्यवहार भन्दा निकै माथिको देखिन्छ । शोभाको पति निर्मलले पनि रामुलाई आफैंले जन्माएको सन्तानलाई भन्दा धेरै महत्व दिएर सकेजति अवसरहरु दिलाएका छन् । निर्मल र शोभाले रामुप्रति देखाएको कर्तव्यबोधको भावना सामान्य मानिसको चिन्तनभन्दा निकै माथि देखिन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै रामुपनि दिन प्रतिदिन आफ्नो भविष्य निर्माणमा दत्तचित्त भएर लागेसँगै प्राप्त उपलब्धिले ल्याएको सुख कुनै भौतिक सम्पत्तिको उपलब्धताले ल्याउन नसक्ने प्रतित हुन्छ । निरन्तरको संघर्ष र दायित्वबोधबाट निर्मलको परिवारले प्राप्त गरेको सन्तुष्टी सबैको निमित्त प्रशंसको विषय बन्छ ।
गतिशिल समयको चक्रसँगै शान्त र सन्तुष्ट परिवारमा अर्को थप सन्तुष्टि प्राप्त गर्ने अभिलाषाको रुपमा रामुको घरजम गर्ने विषयले प्राथमिकता पाउँछ । आफ्नो क्षेत्रमा सफल र अनुशासित व्यक्तित्वसँग नाता जोड्न जो कोही अग्रसर देखिने कुरा उसलाई हुनेखानेले छोरी दिने कुराबाट पुष्टि हुन्छ । दीनहीन निर्मलको पारिवारिक सम्बन्ध सम्पन्न व्यक्तिहरुसँग हुन लागेबाट त्यो परिवार अझै उत्साहित र हर्षित बन्छ । परिणामत: रामुको धर्मपत्नीको रुपमा दुलही बज्यैको अपमानले ल्याएको खुसी दीर्घकालीन बन्न सक्दैन । दुलही बज्यैको आगमानसँगै परिवारमा वैमनस्यताको बीउ पनि मौलाउन थाल्छ । पारिवारिक सम्बन्धमा दरार आउँछ । सानासाना कुराहरु पनि झगडाको कारण बन्छ । अन्तत: रामुले दाजुभाउजूलाई छाडेर दुलही बज्यैसँगै जाने निर्णय गरेपछि परिवारको सारा खुसी र आशा सबै तुषारापात हुन्छ । निर्मलको परिवारमा उही पुरानो दीनहीन अवस्थाको पुनरावृत्ति हुन्छ भने रामु पनि सन्तुष्ट हुन सक्दैन । आफू आफ्नो कर्तव्यबाट च्युत हुनु परेको कुरा उसलाई राम्रैसँग महसुस भइरहेको हुन्छ । समयको गति सँगै रामुको व्यवहार पनि फेरिन्छ । उसले आफ्नो छोराको पास्नीमा समेत दाजु भाउजूलाई बोलाउन आवश्यक ठान्दैन । यो कुराले शोभा र निर्मलको हृदयमा गहिरो चोट पुर्याउँछ । उता रामुकी दुलही परिवारको व्यवस्थापनमा भन्दा आफ्नै रमाइलोमा दिन बिताउन अभ्यस्त हुँदै गर्दा रामु ओछ्यान पर्छ । आफ्नो स्वास्थ्यमा सुधार नभएको अवस्थाबाट आत्तिएर भाउजु शोभालाई उनको कर्तव्यलाई गहिरोसँग अनुभूत गर्दै भाउजूसँगै जाने निर्णयमा पुग्छ । यतिखेर रामुलाई आफू आफ्नो दायित्वबाट भागेको कुराले भत्भती मन पोल्छ र आफ्नो मातारीको भाउजूको पछि लाग्दै पुन: आफ्नै दाजु भाउजूको घर फर्किन्छ ।
यसरी एउटा परिस्थितिमा गरिएको निर्णयलाई अर्को परिस्थितिमा सच्याएर वास्तविकताको पछि लाग्ने रामुको चरित्र र जस्तोसुकै अपमान र तिरस्कारलाई पनि सहेर अगाडि बढ्न सक्ने शोभाको चरित्रले कथालाई निकै उत्कृष्ट र आदर्श बनाएको छ । निरन्तर कर्तव्यपथमा लागिरहने पात्रले ढिलो छिटो आफ्नो गन्तव्य पहिल्याएरै छोड्छ भन्ने मूलभाव प्रस्तुत कथामा व्यक्त भएको छ ।


© 2019 EDUKUM.COM ALL RIGHTS RESERVED


#Things To Remember



1234 Views